साहित्य

जानेहरूका नाममा

सुबिन विश्वकर्मा ‘लुते’ / कविता


जानेहरूलाई
सोध्नु छ एकदिन,
कस्तो रहेछ उसको अंगालोको स्वाद ?

के फरक रहेछ त उसको स्पर्शमा ?
कुन अनुभूति हुने रहेछ उसको आलिशान महलमा ?

कति रंगीन हुने रहेछ उसको नामको सिन्दुरमा ?
जानेहरू
कसरी खुसी हुनसक्छन् बस्नेहरूलाई रुवाएर ?
सुनाउनु छ एकदिन,
झुट थिए होलान् धेरै कुराहरू
थुप्रै खोट थिए होलान् बस्नेहरूमा
तर,
जन्मदिने आमाका नामका दिएर बाचाहरू झुट थिए र ?
मध्यरातमा कसैका लागि खसेका ती आँसुहरू झुट थिए र ?
बस्नेहरू प्रेम माग्दै तड्पिरहे
अनगिन्ती अनुभूतिहरू मनभित्रै गुम्सिरहे
तर,
सुन्नेहरूले सुन्नै नचाहेनन्
अनि
बस्नेहरूको भागमा, ‘यु क्यान्ट रिप्लाई टु दिस कन्भर्सेसन’
सुनाउनु छ एकदिन,
मन भारी हुँदा होस् या खुसी हुँदा
साँझमा हिँड्ने ती गल्लीहरूमा
गल्लीका चियापसलहरूमा
चियाका अन्तिम चुस्कीहरूमा
यताउता जताततै जानेहरूलाई नै कुरिरहेको हुन्छ मन !
किनकि
जानेहरूले छोडेर गएका हुन्छन्
एकमुठी यादहरू
एक अञ्जुली मीठा सपनाहरू
बनाउनु छ एकदिन,
प्रेम भन्दा बिछोडलाई प्यारो,
खुसी भन्दा पीडालाई मज्जा,
भेट भन्दा पर्खाइलाई रमाइलो,
साथ भन्दा एकान्तलाई खास,
किनकि
मनलाई अब फेरि तड्पिनु छैन, छट्पटिनु छैन !
भन्नु छ एकदिन,
सिउँदोमा देखिएको सिन्दुरले
सम्बन्ध समाप्त हुन्छ
प्रेम सकिँदैन
सँगै देखेका ती निर्दोष बाचाहरूको माया लाग्छ
सपनाहरूको श्राप लाग्छ !
र,
प्रेम गरिरहनु छ-चुपचाप, परैबाट
किनकि
यौटा पुरुष प्रेम देखाउन भन्दा पनि निभाउन जरुरी ठान्छ !
गरिरहनु छ प्रेम-एकोहोरो, एकोहोरो
किनकि
प्रेम मनोभाव न हो,
जरुरी छ र दुबैतिर बाट हुनुपर्छ ?
गिड्गिडाउनु छ एकदिन,
जानेहरू
फर्किन्छन् भन्ने अभिलाषाले नै हो,
बस्नेहरूले गुँड सारेका छैनन्
झ्यालका पर्दाहरू फेरेका छैनन्
जानेहरूलाई मनपर्ने भएरै हो,
आँगन छेवैमा फुलेको सेतो गुलाफ उस्तै छ
किनकि
बस्नेहरूले ऐलेसम्म जानेहरू फर्किने आशा त्यागेका छैनन् !
रपनि, जानेहरूलाई बिन्ती
अब नफर्किदिनु !!!