खेलकुद

प्रधानसेनापति खुला म्याराथन फागुनमा

१५ माघ, काठमाडौँ । प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो ।

नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ४२–१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ ।

महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताए । म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् ।

म्याराथनमा पहिलो हुने खेलाडीले तीन लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । दोस्रोले दुई लाख, तेस्रोले एक लाख, चौथोले ५० हजार, पाँचौँले ३० हजार, छैटौँले २५ हजार र सातौँ हुने खेलाडीले २० हजार पाउने आयोजकले जनाएको छ । सोही विधामा आठौँ हुने खेलाडीले १५ हजार, नवौँ हुने खेलाडीले १० हजार तथा १० औँ हुने खेलाडीले पाँच हजार पाउने छन् ।

हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । त्यस्तै १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, सात हजार र पाँच हजार पाउनेछन् । पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार पाउनेछन् ।