अन्तर्राष्ट्रिय

इन्डोनेसियाको उत्तरी सुमात्रामा पहिरोमा परी तीन जनाको मृत्यु

२१ माघ, जाकार्ता । उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ ।

शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामको बीचमा सडकको छेउमा रहेको भीर अचानक खस्दा सो दुर्घटना भएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले बताएकाच छन् ।

दुर्घटनामा सात जना सामान्य घाइते भएका छन् भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । पहिरोले एउटा घर, पाँचवटा मिनीबस, एउटा लजिस्टिक ट्रक र केही मोटरसाइकलमा पनि क्षति पुर्याएको बताइएको छ । आज बिहानैदेखि पहिरोको भग्नावशेषलाई पन्छाएर सडक चालु गरिएको छ ।

यसैबीच हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना कम्तीमा फेब्रुअरी ५ सम्म रहने मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायले चेतावनी दिएको छ ।