खेलकुद

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

२५ माघ, काठमाडौँ । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोली क्यानडाले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो ।

क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा सात चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए । तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पहिलो खेलमा जित दर्ता गर्नबाट चुक्यो ।

पहिलो विकेट १९ रनमा गुमाएको क्यानडाले दोस्रो विकेट ३५ को अवस्थामा गुमायो । त्यसपछि निकोलस कीर्तन र पर्गत सिंहले पारी सम्हाल्दै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याए ।

चौथो विकेटका लागि निकोलस कीर्तन र हर्श थाकरले ६० रनको साझेदारी गर्दा क्यानडा एक सय ७४ रनको बलियो अवस्थामा पुग्यो । यो अवस्थामा क्यानडालाई जितका लागि १७ ओभरमा ५१ रनको आवश्यक थियो । खेल पूर्णरुपमा क्यानडाको पक्षमा ढल्किसकेको थियो ।

त्यसपछि क्यानडाको पारी बिग्रियो । उसले थप ४३ रन बनाउँदा बाँकी छ विकेट गुमाउन पुग्यो । क्यानडाको पौँचौ विकेट एक सय ८९ रनमा गुम्यो भने छैँटौ विकेट एक सय ९५ रन छँदा गुम्यो । साथै सातौ र आठौँ विकेट दुई सय सात रनमा, आठौँ र नवौँ विकेट दुई सय १२ रनमा र अन्तिम विकेट दुई सय १७ रनमा गुमायो ।

नेपालका लागि कप्तान पौडेल एक्लैले चार र ललित राजबंशीले दुई विकेट लिए । त्यसैगरी सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले समान एक/एक विकेट लिए ।

जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर ५० ओभरमा अलआउट हुँदा दुई सय २४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए ।

त्यस्तै आशिफ शेख र रोहित पौडेलले समान आठ÷आठ रन मात्रै बनाए । भीम सार्कीले १७, कुशल मल्लले २०, आरिफ शेखले ३८, पवन शर्राफले १५, सोमपाल कामीले २७, सूर्य तामाङले १० तथा रिजन ढकालले चार रन बनाए ।

नेपाललाई अलआउट गर्ने क्रममा क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई÷दुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट झारे ।

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खला सुरु हुनुअघि नेपाललले क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको हो ।

नेपाल र क्यानडाबीचको दोस्रो खेल यही माघ २७ हुनेछ ।