अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार: राष्ट्रसङ्घ

२७ माघ, गाजा । उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।

यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको सुरुदेखि नै उत्तरमा पेस गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताएका हुन् । संयुक्त राष्ट्रसङ्घले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ ।

लजारिनीले उत्तरमा करिब तीन लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय सहायताको पहुँच अवरुद्ध भइरहेको उल्लेख गरे ।

गाजास्थित सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले निरन्तर घेराबन्दी र खाना, पानी र पोषणलाई प्रवेश गर्नबाट रोकेको कारण पिठो चामललगायतका सामानहरू सकिइसकेका छन् । गाजा क्षेत्रका बासिन्दाहरूले आफ्नो लागि आएको खाद्यान्न सहायता रोकिँदा यसको सट्टा पशुखाद्य र अन्न पिस्न बाध्य भएको र अहिले चलिरहेको आक्रमणको बीचमा वास्तविक अनिकालको सामना गरिरहेको विज्ञप्तिमार्फत कार्यालयले जनाएको छ ।

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या २७ हजार नौ सय ४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।