अन्तर्राष्ट्रिय

नाइजेरियामा लस्सा ज्वरोबाट ७२ जनाको मृत्यु

११ फागुन, अबुजा । यस वर्षको प्रारम्भदेखि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।

पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो ।
राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कूल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ । यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीयरूपमा कम हो ।

मुलुकमा लस्सा ज्वरोको प्रकोपबाट अहिलेसम्म दुई स्वास्थ्यकर्मी प्रभावित भएको एनसिडिसीले बताएको छ । एनसिडिसीका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू यस ज्वरोबाट सबैभन्दा बढी पीडित छन् । लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा घरेलु वस्तुहरूमार्फत मानिसमा फैलिने रोग हो । मुसाको र्याल, मूत्र र मल मानिसको सम्पर्कमा आएपछि यो ज्वरो फैलिने बताइन्छ ।

एनसिडिसीका अनुसार सन् २०२३ मा लस्सा ज्वरोबाट एक हजार दुई सय २७ मामिलामा कम्तीमा दुई सय १९ को मृत्यु भएको थियो ।