अन्तर्राष्ट्रिय

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ६ सय ६ पुग्यो, १३२ प्यालेस्टाइनी पत्रकार मारिए

१२ फागुन, गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना प्यालेस्टाइनीहरूको निधन भएको छ भने १२३ जना घाइते भएका छन् । पछिल्लो गाजा युद्ध शुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार ६०६ पुगेको छ भने ६९ हजार ७३७ घाइते भएका छन् ।

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाए अनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएको जनाएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शुक्रबार यसका टोलीले दक्षिणी गाजा पट्टीमा रहेको खान युनिस शहरको नासेर मेडिकल अस्पतालबाट १८ जना घाइतेहरूलाई बाहिर निकालेको उल्लेख गरेको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको आक्रमणको बदलास्वरूप प्यालेस्टानी विरुद्ध कडा आक्रमण जारी राखेको छ ।