अन्तर्राष्ट्रिय

कठाङ्ग्रिदो जाडोले मङ्गोलियामा २० लाख भन्दा बढी पशुको निधन

१२ फागुन, उलान बातोर । मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशुको निधन भएको छ । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर ’दिजुद’ चिसोका कारण कम्तिमा २० लाख २ हजार पशुको निधन भएको छ ।

“दिजुज“ मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ । जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौ पशुपक्षीको निधन भएको छ ।

देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकेको छ । संसारमा अन्तिम जीवित घुमन्ते देश (नोमाडिक) देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ ।

भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो ।