खेलकुद

झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफ विजयी

१९ फागुन, झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा आजदेखि सुरु भएको छैटौँ संस्करणको झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।

टाइब्रेकरमा सङ्कटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोलअन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । एपिएफका लागि दीपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । सङ्कटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

सङ्कटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो । खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो ।

तेह्रौँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकाशियो । बीस मिनेटमा अनिसकै प्रहार गोलरक्षकले विफल बनाए । २४औँ मिनेटमा कुलदीप कार्कीको पासमा गोलपोस्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो । ५५औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार सङ्कटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६औँ मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार सङ्कटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बचाए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४औँ मिनेटमा सङ्कटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६०औँ मिनेटमा सङ्कटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले बचाए । खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले रु ११ हजार पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले रु सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।

आजदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।