खेलकुद

आर्मी र प्रहरीलाई कबड्डी सुपर लिगको उपाधि

२५ फागुन, काठमाडौँ । नेपाल आर्मी र नेपाल प्रहरीले कबड्डी सुपर लिगको उपाधि जितेका छन् । आर्मी पुरुष तथा प्रहरी महिलातर्फ च्याम्पियन बनेका हुन् । पुरुष/महिला दुवैको फाइनलमा एपीएफ क्लब पराजित भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले एपीएफलाई ३४–२४ ले पराजित ग¥यो । प्रतियोगितामा प्रहरी तेस्रो भयो ।

नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी सङ्घद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि भिडन्तमा प्रहरीले एपीएफलाई ४१–२८ ले हरायो । सो प्रतियोगितामा उपत्यका टोली तेस्रो स्थानमा रह्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा आर्मीका प्रदीप मिजार र महिलामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, आयोजक सङ्घकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगिताको पुरुषमा चार तथा महिलामा तीन टोलीले प्रतिस्पर्धा गरेको आयोजक सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।