अन्तर्राष्ट्रिय

इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, ९ बेपत्ता

१२ चैत, जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित ९ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ ।

पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको बताउनु भएको छ । यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उनले बताए ।

उनले दुर्घटनामा दर्जनौँ घरहरू ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् ।