समाचार

कैदी मृत्यु प्रकरण: कारगारलाई यातनामुक्त बनाउन माग

१८ चैत, सुनसरी । सुनसरीको झुम्का कारागारभित्र एक कैदीको मृत्यु भएपछि अन्य कैदीले कारगारलाई यातनामुक्त बनाउनुपर्ने माग गरेका छन् ।

शनिबार बिहान कतव्र्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय न्यायाधीश राई करागारभित्र मृत भेटिएका थिए । सो घटनापछि अन्य कैदीबन्दीले कारागारलाई यातनामुक्त बनाउनुपर्ने आवाज उठाएका हुन् । राईका आफन्तजनले भने उनको करागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् ।

कारागारका जेलर ध्रुव्र कोइरालाले भने राईको जिल्ला अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । श्वासप्रश्वासमा समस्या रहेकाले राईलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको उनको भनाइ छ ।

मृतक राईका दाजु सुभाष राईले भने भाइको कारगारभित्रै हत्या गरिएको आरोप लगाउँदै सो घटनाको छानबिन गर्न माग गर्नुभएको छ । मृतक राईको शरीरभरि नीलडाम रहेका, कान सुन्निएको र चोट देखिएकाले कुटपिटबाट हत्या गरिएको उनकी भाउजू उर्मिला राईको भनाइ छ ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले भने राईको अस्पताल पु¥याउनुअघि नै मृत्यु भइसकेको बताउनुभयो । आवश्यक छानबिनसहित शव परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिँदा पनि सुनसरी प्रशासनले निवेदन दर्ता गर्न नमानेको बराहक्षेत्र–१० का वडाअध्यक्ष तेज गुरुङले बताए ।