राजनीति

देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त सम्मान हुन सकेनः सभापति देउवा

२८ चैत, । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताएका छन्।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज हाँ अनावरण गर्दै सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए ।

अपराधीको जति नै निन्दा गरे पनि नपुग्ने उल्लेख गर्दै सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पु¥याएको योगदानको चर्चा गरे।

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सार्नुभएका चाहना र आङ्काक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरे ।

यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् ।