प्रदेश 1

कांग्रेस क्षेत्रीय सभापति तामाङले पिण्डेश्वर विद्यापीठका बाबा र मातासंग मनाए नयां वर्ष

१ बैशाख, धरान । नयां वर्षलाई मानिसहरुले साधारणतयः विभिन्न होटल, रिसोर्ट, रेष्टुरेन्ट, पर्यटकीय क्षेत्र लगायतमा गएर मिठामिठा खानेकुरा खाने, नाच्ने, पाटी गर्ने, बनभोज जाने, पारिवारिक जमघट गर्ने जस्ता मनोरञ्जनात्मक गतिविधिमा संलग्न भएर मनाउने गर्दछन् भने विभिन्न संघसस्था तथा राजनीतिक दलहरुले शुभकामना आदान–प्रदान कार्यक्रम गरी मनाउने गर्दछन् ।
तर नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले भने धरान–१४ स्थित प्रसिद्ध ऐतिहासिक मन्दिर पिण्डेश्वर बाबा धाममा बर्षौदेखि रहंदै आएका बाबा र माताहरुसंग नयां वर्ष मनाएका छन् । उनले वर्षौदेखि मन्दिरमा आश्रित रहेर मन्दिर क्षेत्रको रेखदेख र पूजाआजामा सहयोग गर्नुका साथै मन्दिरको शोभा र गरिमा बढाउने कार्यमा समेत निरन्तर संलग्न हुंदै आउनु भएका आदरणीय बाबा र माताहरुमा पनि खुशी र उमंग छाओस् भनेर नयां वर्षको केक काटेर उहांहरुसंगै नयां वर्ष मनाएको बताउंदै वृद्ध बाबा र मातासंग नया वर्ष मनाउनु पनि एक सामाजिक तथा मानवीय कार्य र धार्मिक कार्य भएको बताए ।
मन्दिरका बाबा र माताहरुले आफुहरुलाई यसरी पहिलो पटक सम्झेर सम्मानका साथ मन्दिरमै नयां वर्ष मनाउने कार्यक्रम राखिदिनु भएकोमा र पहिलो पल्ट उत्साहपूर्वक नयां वर्ष मनाउन पाएकोमा खुशी व्यक्त गर्दै सभापति तामाङ र नेपाली कांग्रेस पाटीलाई धन्यवाद दिनुका साथै सबैको कल्याणको कामना गरेका छन् ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुवास केसी, नेपाली कांग्रेसका क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १(१) का कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नेपाल तरुण दल धरानका कार्यवाहक अध्यक्ष तथा १४ नं. वडा सदस्य राम तामाङ, सचिव मनोहर श्रेष्ठ, ११ नं। कार्यवाहक वडा सभापति विक्रम तामाङ, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिस्टर पुष्पा गर्तौला र अमल राई, नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठ, सुनुवार सेवा समाजका नेता तथा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका पूर्व जिल्ला सचिव गजेन्द्र सुनुवार, समाजसेवी सुरेन्द्र स्थापित लगायतको उपस्थिति रहेको थियो ।