अन्तर्राष्ट्रिय

सर्बियाको भ्रमणअघि राष्ट्रपति सीद्वारा नाटोको आलोचना

२५ वैशाख, बेलग्रेड । चीनका राष्ट्रपति सी जिनपिङले सन् १९९९ मा युगोस्लाभियामा चिनियाँ दूतावासमा भएको बम विस्फोटको आलोचना गर्दै बेइजिङले ‘यस्तो दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति नदिने’ चेतावनी दिएका छन् । कोभिड महामारीपछि युरोपको पहिलो भ्रमणको अर्को विश्राममा सर्बियाली राजधानी बेलग्रेड पुग्नअघि सीले मङ्गलबार सर्बियाली दैनिक पोलिटिकामा उक्त चेतावनी दिएका हुन् । उनको भ्रमण सैन्य गठबन्धनद्वारा बम विस्फोटको २५औँ वार्षिकीसँग मेल खान्छ ।

तीन जनाको मृत्यु हुने गरी भएको उक्त बम विस्फोटका लागि सिआइए म्यापिङ त्रुटिमा दोषी ठहराइएको थियो । “आजभन्दा २५ वर्षअघि नाटोले युगोस्लाभियामा चिनियाँ दूतावासमाथि गरेको बम आक्रमणमा तीन चिनियाँ पत्रकार मारिएका थिए”, सीले पोलिटिकामा लेखेका छन्, “यसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन, चिनियाँ जनता शान्ति चाहन्छन् तर यस्तो प्रकारको दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति दिनेछैनौँ ।” उनले चीन र सर्बियाबीच ‘मजबुत मित्रता’ को प्रशंसा गर्दै भने, “यो हाम्रा देशवासीहरूको रगतले बनेको हो ।”

फ्रान्सको राजकीय भ्रमणपछि सी मङ्गलबार राति बेलग्रेड पुग्नुहुने अपेक्षा गरिएको छ । फ्रान्समा सीले युक्रेन युद्धलायतका विषयमा राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग छलफल गरेका थिए। उनको युरोपको अर्को भ्रमण सर्बिया र हङ्गेरीमा हुनेछ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ । चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।