समाचार

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन, माग पूरा नभए देशभर आन्दोलन गर्ने चेतावनी

११ जेठ, काठमाडौँ । सरकारले आफूहरूका मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले चेतावनी दिए।