राजनीति

संसद्को गरिमा र ओझ खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा

१२ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्‌मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन र मर्यादाहीन हुँदै गएको बताए ।

संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ’, उनले भने, ‘ओज र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओज र गरिमा नभई आफ्नो साख गिराउँदैछ ।’