समाचार

जसपा नेपाल विभाजनको मुद्दा पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेश

२७ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अन्तरिम आदेश माग गर्दै दर्ता गराएको रिट पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।
शुक्रबार र आइतबार दुई दिन बहसपश्चात संयुक्त इजलासले विगतको यथास्थितिमा राख्ने निर्णयलाई यथावत राख्दै सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउने आदेश गरेको सर्वोच्च अदालतको प्रशासनले जनाएको हो । कानुन विपरीत जसपाले दलको मान्यता पाएको भन्दै जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गरेको थियो।

जसपा नेपालबाट वरिष्ठ नेता अशोक राईले ७ सांसद लिएर विद्रोह गर्दै जनता समाजवादी पार्टी गठन गरेका थिए। जसपा नेपालबाट अलग्गिएर जसपा गठन गरेपछि राई पक्षलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।