समाचार

प्रधानमन्त्री दाहाल र सिपिपिसिसीका उपाध्यक्ष बार्टर बिच शिष्टाचार भेट

२ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए ।