समाचार

किसानहरुलाई रुवाएर आफू हाँसेर बस्न सुहादैन, सरकारले उनीहरुलाई तत्काल भुक्तानी दिलाउन पर्छ : सांसद बाँस्कोटा

१३ असार, काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दुग्ध किसानहरु लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने र तत्काल भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाए ।
किसानहरुले भिख मागेको नभई पसिनाको मूल्य खोजेको भन्दै सांसद बास्कोटाले बताए ‘यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’

“दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं । किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ । नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन ।” सांसद बाँस्कोटाले भने ।