राजनीति

वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ : प्रधानमन्त्री दाहाल

१५ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गरे । साथै, उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे ।

“विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन, विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले भने ।