समाचार

एसईईको नजिता बारेमा गम्भीर समीक्षा गर्नुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

१६ असार, काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईईको नजिताका बारेमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले एसईईको नजिता समाजको वास्तविक चित्रण भएको भन्दै सबैले ग्लानी महशुस गर्दै गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएकी हुन्।

उनले नजिता आइसकेको अवस्थामा सुधारको पाटोलाई प्राथमिकता दिनुपर्ने बताइन् । शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने उल्लेख गरिन्।

शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको उनले जानकारी दिइन् । उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको पनि जानकारी दिइन्।