समाचार

जिम्मेवारीका साथ काम गर्न मुख्यमन्त्री सिंहको निर्देशन

२२ साउन, जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले कर्मचारीलाई आफूले पाएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकार अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले त्यसतर्फ दत्तचित भइ अघि बढ्न निर्देशन दिए ।

मधेस प्रदेश सरकारको पेफा मूल्याङकनसम्बन्धी प्रारम्भिक कार्यशाला, २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीलाई कार्यसम्पादनमा ध्यान दिन आग्रह गरे । प्रदेश सरकारको काम केन्द्रले नियालिरहेको उल्लेख गर्दै उनी सरकारले नीति ल्याउने र त्यसको कार्यान्वयनको काम कर्मचारीको भएको बताए ।

“मधेस प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैनन् । कर्मचारीको सम्पर्क नम्बर पनि लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ”, उनले भने ।