२२ साउन, काठमाडौँ । वाग्मती प्रदेश सरकार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले हस्तकला क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।
नेपाल हस्तकला महासङ्घले वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तामाङ, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, श्रम तथा रोजगारमन्त्री प्रेमभक्त महर्जन तथा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङको सम्मानमा आयोजित कार्यक्रममा उनले वाग्मती प्रदेश सरकारले हस्तकलाको विकासमा सहयोग गर्ने बताएका हुन् ।
“वाग्मती प्रदेशमा हस्तकलाको ठूलो सम्भावना छ, यसको विकासका लागि सरकार लाग्नेछ”, उनले भने । मुख्यमन्त्री तामाङले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसँग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको दाबी गरे ।
महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सार्क हस्तकला विकास केन्द्रको सञ्चालन, प्रदेश हस्तकलाग्राम स्थापना र सञ्चालन, हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्व विद्यालयको स्थापनाका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्य आवश्यक रहेको बताएका थिए ।





