२३ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय सङ्गीतकार एवं गायक गुरुदेव कामतको निधनबाट नेपाली गीतसङ्गीत क्षेत्रले एक कुशल सङ्गीत साधक र शास्त्रीय सङ्गीतका एक चम्किलो प्रतिभा गुमाएको बताएका छन् ।
राष्ट्रपति पौडेलले गुरुदेव कामतको निधनमा उनका परिवारलाई एक समवेदना सन्देश पठाउँदै यस्तो धारणा व्यक्त गरेका हुन्। “विभिन्न भाषाका गीत, शास्त्रीय सङ्गीत प्रशिक्षण एवं गायनका माध्यमबाट कैयौँ कालजयी गीत, गजल र भजनका सिर्जना नेपाली गीतसङ्गीत प्रेमीलाई दिएका कामतले यस क्षेत्रमा पु¥याएको योगदान नेपाल र नेपालीमाझ सदैव स्मरणीय रहनेछ”, उनले समवेदना सन्देशमा उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले कामतको निधनले अत्यन्त दुःखी भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पणका साथै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
समवेदना सन्देश सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र लहान नगरपालिकाका प्रमुख महेशकुमार चौधरीले कामतका परिवारजनलाई आज हस्तान्तरण गरेका थिए ।





