समाचार

पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वपर्यटनमन्त्रीबीच भेटवार्ता

२८ साउन, काठमाडौँ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री यु जिन रोंङबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे । सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ थियो ।

मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाई भाडा केही महँगो भएको विषयमा आमजनगुनासो रहेको ध्यानाकर्षण गराएका थिए । उनले भने, “५० हजारभन्दाबढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आवतजावत गर्न विमान भाडा महँगो हुने गरेको गुनासो गर्नुहुन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।”

नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत् सम्बन्धको प्रशंसा गरे। उनले हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए ।

उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तोसमेत दिएका छन् ।