२९ साउन, ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहमा महिला सहभागितालाई वृद्धि हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा आज ललितपुरमा आयोजित निर्वाचन प्रणालीमा महिलाको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक वाग्मती प्रदेशस्तरीय एकदिने प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्री गुरुङले सङ्घीय तहमा मात्रै महिलाको प्रतिनिधित्व हुँदा त्यसले साथर्कता पाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्वमा निर्वाचित हुने महिलाको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका हुन् ।
“महिलालाई राजनीतिमा स्थापित गर्दै निर्वाचन प्रणालीमा महिलाको समान सहभागिताका लागि पाँच ‘स’ अर्थात् समानता, सहभागिता, समाजिक सुरक्षा, सामाजिक न्याय र सशक्तीकरण आवश्यक छ, स्थानीय तहमा महिलाको प्रतिनिधित्व नहुँदासम्म सङ्घीय तहमा मात्रै भएर केही पनि हुँदैन, आन्दोलनमा महिलाको नेतृत्व आवश्यकता हुने र आन्दोलनपछि महिलालाई विर्सने पद्धतिले पछाडि पारिरहेको छ, हामी अब निगाहको राजनीतिबाट मुक्त हुनुपर्छ, महिलाले नै महिला नेतृत्वलाई स्वीकार गर्ने वातावरण बन्नुपर्छ”, पूर्वमन्त्री गुरुङले भने ।
उनले संविधान, निर्वाचन ऐन र पार्टीको विधानमा उल्लेख भएका उपलब्धिलाई कार्यान्वयन गराउन महिला एकजुट भएर ध्यान दिनुपर्नेमा जोड दिए ।
“हामीले लैङ्गिक कारणले सृजित विभेद अन्त्यका लागि आवाज उठाउनुपर्छ, स्रोतको अवसर र पहुँचमा ध्यान दिनुपर्छ, बहिस्करणमा पारिएको पक्षलाई मूलधारमा ल्याउन ध्यान दिनुपर्छ”, उनले भने । यसका लागि पार्टीभित्र, संवैधानिक निकाय, राजनीतिक तहमा छुट्टाछुट्टै तरिकाले दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो ।
न्यायिक क्षेत्रमा, संवैधानिक आयोगहरु, सामाजिक सङ्घसंस्थाहरु, निजामती कर्मचारी प्रशासन क्षेत्रभित्र पनि महिलाको प्रतिनिधित्वको अवस्थालाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
उनले नेपाली कांग्रेसभित्र चार तहमा संसदीय बोर्ड रहेको र त्यहाँ पनि महिलाको सहभागिता बढाउन आवश्यक छ भने । उनले महिला मन्त्रालय, महिला आयोगलगायत महिलाका लागि कानुन बनेपछि महिला केन्द्रित बजेट र कार्यक्रम बन्न सकेको अवस्था नरहेको धारणा राखे ।
कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोलाले पार्टीले पाँच लाख क्रियाशील सदस्यता थप्ने नीति लिएको जानकारी गराउँदै त्यसमा महिलाको सङ्ख्या वृद्धिका लागि लाग्नुपर्ने बताए।
“पार्टीको १३औँ महाधिवेशनमा १४ प्रतिशत र १४औँ महाधिवेशनमा २५ प्रतिशत क्रियाशील सदस्य हुनुहुन्थ्यो, अब पाँच लाख नयाँ क्रियाशील बढाउने लक्ष्य हुँदा हामीले ५० प्रतिशतको हाराहारीमा क्रियाशील सदस्यता लिने महिला पु¥याउन लाग्नु आवश्यक छ, महिलालाई नेतृत्वमा पु¥याउन सबै एकजुट हुनुपर्ने आवश्यकता छ”, उनले भने ।
नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले महिला सक्रिय भएको स्थानमा राजनीतिक सफलता हासिल हुने भन्दै आगामी दिनमा ५० प्रतिशत सुनिश्चितता लागि एकजुट भएर लाग्न आग्रह गरे । उनले नेपाली कांग्रेसले विधान संशोधन गरेर १५औँ महाधिवेशनमा उपसभापतिलगायतका पदाधिकारीको व्यवस्था गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले आसन, भाषण र शासनमा महिलाको उपस्थिति बढाउन आवश्यक रहेको बताए ।
ललितपुर महानगर पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसको महासमिति सदस्य गीता सत्यालले महिलाको राजनीतिकस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नसक्ने महिला नेतृत्व निर्णायक तहमा स्थापित गर्न यो प्रशिक्षण महत्वपूर्ण हुने बताए ।
उनले संविधानमा राज्यको हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भनिए पनि प्रतिनिधिसभा र प्रदेशसभामा नौ प्रतिशत महिलाले मात्रै प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने अवसर पाएको भन्दै यसमा राजनीतिक दल चुकेको धारणा राखे । उनले देशका ७५३ स्थानीय तहमध्ये २५ जना मात्रै प्रमुख निर्वाचित हुन सफल भएको भन्दै आगामी दिनमा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने बताए।





