समाचार

जनताले खोजेको अरु केही होइन, दिगो विकास हो : नेता शाही

२९ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का नेता महेन्द्रबहादुर शाहीले पछिल्लो समयमा नेपाली युवामा वैदेशिक पलायन हुने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभामा आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै सांसद शाहीले भने, “नेपाली युवा विदेश पलायन हुने विषयलाई नेपालका राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्छ तर राजनीतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दै आएका छन् । मैले गरेका सबै काम ठीक छन्, अरुले गरेका काम सबै गलत छन् भन्ने नेताहरुको आरोपप्रत्यारोप गलत छ ।”
आफ्नो पार्टी आवश्यकताको र प्राप्त अधिकारको रक्षा गर्दै थप अग्रगमनतर्फ लैजानका लागि संविधान संशोधन गर्न जरूरी रहेको नेता शाहीको भनाइ थियो । उनले पछिल्लो राजनीतिक परिवर्तनलाई असफल गर्नका लागि केही शक्ति लागि परेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए।

पछिल्लो समय दल र दलका नेताको ध्यान संविधानअनुसार कानुन बनाउने, जनताका न्यूनतम आवश्यकता पूरा गर्नेभन्दा पनि सत्तामा कसरी पुग्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएको शाहीले जिकिर गरे । उनले भने, “हामी जनप्रतिनिधिले जनतालाई विकास, समृद्धि, सुशासन र सामाजिक न्याय दिने हो । यी सबै पूरा गर्नका लागि सङ्घीयतालाई राम्रोसँग कार्यान्वयन र स्थानीय सरकारलाई बलियो बनाउनुपछै तर सङ्घीय कानुन अहिलेसम्म पनि बन्न सकेका छैनन् ।”

नेता शाहीले जनताले अरू केही नभएर दिगो विकास चाहेको भन्दै सरकार विकाससँगै आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए । “विदेशिएका युवालाई स्वदेशमै बस्ने वातावरण बनाउने र रोजगरी सिर्जना गर्नेतर्फ लागौँ । यसका लागि आवश्यक बजेट व्यवस्थापन, कृषिमा, उद्योग र पर्यटनमा लगानी गरौँ, हरेक क्षेत्रमा लगानी गरेपछि मात्रै देश बन्छ, नेताहरुप्रति युवाको विश्वास बढ्दै जान्छ”, उनले भने ।

नेता शाहीले विद्युत् महसुल तिर्ने वा नर्तिने भन्ने विषयमा पर्याप्त छलफल गर्नुपर्ने र संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।