समाचार

राज्यका सबै संरचनामा दलितको समान सहभागिता हुनुपर्ने माग

३० साउन, काठमाडौँ । विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् ।

उन्ले आज दिउँसो प्रदर्शनस्थल माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरे । सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई मङ्गलबार प्रहरीले पक्राउ गरी आज रिहा गरेको थियो । उन्ले आठ दिनदेखि हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गर्दै आएका छन् । आफ्ना माग पूरा नभएसम्म प्रदर्शनी जारी राख्ने संयोजक सुनारले बताए ।

पक्राउको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी सुनारका जायज माग पूरा गर्नुपर्ने माग गर्दै आएका छन् ।