१४ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या भएको छ ।
विसं २०६० असोज ८ गते स्थापना भएको पुस्तकालय अहिले पनि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । पुस्तकालयले परिषद्को दुईवटा भवन भाडामा लिएर पाठकलाई सेवा दिइरहेको छ । दुवै भवन तोकिएको २५ प्रतिशतमात्र शुल्क तिर्नेगरी सम्झौता गरेर सञ्चालन भइरहेको छ । परिषद्ले हालै पुस्तकालयलाई पत्र लेखी दुई भवनको गरी वार्षिक रु छ लाख लिनुपर्ने भनी पत्राचार गरेको छ । अहिलेसम्मको यो रकम दुई करोड हुने भन्दै परिषद्ले पुस्तकालयलाई पत्राचार गरिसकेको छ ।
सम्झौता भएअनुसार पुस्तकालयले हाल मासिक रूपमा एक लाख ५० हजार भाडा परिषद्लाई तिरिरहेको महासचिव मुरारीविनोद पोखरेलले राससलाई जानकारी दिए। पुस्तकालयमा लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थी एकान्त खोज्दै आएर अध्ययन गर्ने गरेका छन् । पुस्तकालयमा विभिन्न विषयगत विधाका गरी ६० हजार पुस्तक छन् । ब्रिटिस काउन्सिलले पुस्तकालयका लागि १० हजार पुस्तक प्रदान गरेको थियो ।
पुस्तकालयका लागि काठमाडौँ महानगरपालिकाले एक करोड बजेट दिने निर्णय गरेको छ । पुस्तकालयमा नौजना कर्मचारी र दुईजना स्वयंसेवीले काम गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० सम्म वार्षिक ५० लाख दिने गरेको थियो । आव २०८०/८१ देखि भने रु पाँच लाख दिने भनी बजेट व्यवस्थापन गरिएको छ ।




