१५ भदौ, मोरङ । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । यस अगाडि बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सो संशोधन विधेयमाथि सैद्धान्ति छलफल गरियोस् भन्ने प्रस्ताव सदन समक्ष पेश गर्नुभएको थियो । सभामुख अम्बरबहादुर विष्टले विधेयक सर्वसम्मतले पारित भएको सभा समक्ष जानकारी दिएका थिए ।
संशोधन विधेयकको सैद्धान्तिक छलफल भाग लिँदै प्रदेशसभा सदस्य रामदेव यादव, भूपेन्द्र राई, प्रदीपकुमार सुनवार,शोभा चेम्जोङ, गेम्बु शेर्पा, विदुरकुमार लिंथेप, रमेशकुमार बस्नेत लगायतले विधेयकमा जनसङ्ख्याको आधारमा आरक्षण हुनुपर्ने, संशोधन विधेयकमा समानता रहेको विचार राखे।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले सैद्धान्तिक छलफलमा उठेका जिज्ञासामा जवाफ दिदै विधेयक समयानुकूल परिमार्जन गर्न ल्याएको बताए । उनले विधेयकले स्थायी सरकारको रूपमा रहेका कर्मचारीलाई चुस्तदुरुस्त एवं जनमुखी बनाउन सहयोग पुग्ने छ भने । सभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।





