२४ भदौ, ललितपुर । बिपीको आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्नेमा जोड दिइएको छ । १११औँ नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘स्मृतिमा विपी’ विषयक विचार गोष्ठीका वक्ताहरूले आदर्श बोल्नका लागि भन्दा पनि कार्यान्वयनका लागि भएको बताएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बिपीको सोच अनुसारको चेतनालाई हरेक जनप्रतिनिधिहरूले व्यवहारमा लागू गर्न सक्नुपर्ने बताए । उनले भने, “बिपीलाई पर्व विशेष र दिन विशेषमा सम्झिनेभन्दा दिनप्रति दिन व्यवहारमा लागू गरौँ, पद ठूलो हैन, लक्ष्य र चिन्तन ठूलो हो ।”
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले बिपीको नेतृत्वमा गठन भएको सरकारले १८ महिना गरेको काम अहिलेसम्म कुनै सरकारको पालामा नभएको दाबी गरे । बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले विसं २०३६ को जनमत सङ्ग्रहको समयमा बिपीले ललितपुरको चापागाउँमा सम्बोधन गरेको स्मरण गरे ।
जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले बिपीको आदर्श र चरित्रलाई अवलम्बन गर्ने पार्टी कांग्रेसले अब ललितपुरका जनतामा जाँदा कुनै दाग नदेखिने र पार्टीको अनुशासनमा रहने निष्ठावान व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिए ।