राजनीति

नयाँ सरकार गठन भएसँगै नागरिकमा आशा पलायो : उपमहासचिव ज्ञवाली

२४ भदौ, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार निर्माण भएसँगै नागरिकमा आशा पलाएको दाबी गरेका छन् । उनले एमाले र कांग्रेस दुई दल मिलेर नयाँ कोर्ष सुरु गरेको बताए ।

सोमबार गुल्मीको छत्रकोट गाउँपालिकाअन्तर्गत हर्दिनेटामा आयोजित नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले देश असामान्य अवस्थाबाट गुर्जिरहेको र धेरै नै लथालिङ्ग हुने बाटोमा जाने भएका कारण त्यसलाई आत्मसात गरेर नयाँ यात्रा सुरु गरेको जिकिर गरे ।

जो प्रतिपक्ष भए पनि गणतन्त्र, संविधान र लोकतन्त्रको कोही पनि प्रतिपक्ष नहुने बताउँदै पूर्वमन्त्री ज्ञवालीले भने, “हामी सबै पक्ष हौँ, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो ।” देशमा निजी क्षेत्रले सरकारमाथि ठूलो भरोसा गरेको भन्दै उनले देश विकासको लागि सरकार एउटा नेतृत्वदायी शक्ति भए पनि सबैभन्दा धेरै लागानी गर्ने निजी क्षेत्र रहेको बताए ।