१ असोज, जेरुसेलम । इजरायलले मङ्गलबार गाजामा सैन्य कारबाहीको लक्ष्य विस्तार गरेको छ । यसको मुख्य अभिप्राय इजरायल–लेबनान सीमामा हेजबुल्लाहसँग चलिरहेको द्वन्द्वका कारण विस्थापित उत्तरी इजरायली बासिन्दाको सुरक्षित फिर्ता गर्नु रहेको इजरायलले जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा सुरक्षा मन्त्रिपरिषद् बैठकबाट यो निर्णय स्वीकृत भएको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा मन्त्रीहरूले कारबाही लक्ष्यहरू अद्यावधिक गरी उत्तरी इजरायलका बासिन्दालाई उनीहरूको घरमा सुरक्षित फिर्ताको लागि प्रयास जारी गरिने उल्लेख छ ।
इजरायली रक्षामन्त्री योव ग्यालान्टले इजरायल र हेजबुल्लाहबीचको तनाव कम गर्ने प्रयासबारे छलफल गर्न तेल अवीव पुगेका ह्वाइट हाउसका विशेष दूत अमोस होचस्टेनलाई कूटनीतिक समाधानका लागि बाटो बन्द हुँदै गरेको उल्लेख गरे।
उत्तरी सीमामा शान्ति कायम गर्न सैन्य कारबाही नै एक मात्र उपाय हो, ग्यालान्टले बताए ।
लडाइँका कारण सीमाका दुबै किनाराका दशौँ हजार बासिन्दाहरू विस्थापित भएका छन् । हेजबुल्लाहले इजरायल र हमासले लडाइँ अन्त्य गर्न सहमत भएमा युद्धविराम गर्ने बताएको छ ।





