१ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको बताएका छन्।
आज यहाँ आयोजित नेपाल पर्वतारोहण सङ्घको ३४औँ वार्षिकोत्सव समारोहमा उनले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले एकठाउँमा उभिन तयार भएको बताए । उनले भने, “हामी एकताबद्ध भएर सबै प्रकारका समस्या समाधान गर्न चाहन्छौँ । यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपालगायत सबैलाई जोडेर काम गर्न चाहन्छौँ । दुई पार्टीको मनोमानी कायम गर्नका लागि गठबन्धन बनेको होइन ।”
अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएको उल्लेख गर्दै मन्त्री पाण्डेले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राखे । “देश बनेपछि राजनीतिक प्रतिष्पर्धा गरौँला । त्यसैले कम्तीमा विसं २०८४ सम्म नेपाललाई एउटा गतिमा अघि बढाउने गरी सहकार्य गरौँ । त्यसपछि स्थिर शासन, स्थिर अर्थतन्त्रसहित स्वच्छ प्रतिस्पर्धासहित अगाडि बढ्नु त छँदैछ”, उनको जिकिर थियो ।
आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गरे । उनले संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आफ्नो ध्यान रहेको बताए ।
कार्यक्रममा पूर्वपर्यटनमन्त्री भीम आचार्यले दश वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले ठूला विमानस्थल सञ्चालन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले पर्यटन नीति स्पष्ट र समयसापेक्ष हुनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न जरुरी रहेकाले त्यसतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई उनले आग्रह गरे ।





