२ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखा मिडियाका सञ्चालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनको दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका छन्।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले सहकारी छानबिन समितिले नै उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको बताए।
“गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं सहकारीलाई ठगेको छ। गैरकानुनी तरिकाबाट सहकारीको पैसा ल्याएको छ। अनि अहिले आएर मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन भन्न मिल्दैन। छानबिन समितिले नाम नै उल्लेख गरेर गोरखा मिडियाका सञ्चालकहरू अध्यक्ष जितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलालाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ। उनीहरूलाई सहकारी ऐनको दफा १२२ र संगठित अपराधमा मुलुकी अपराध संहिताको दफा ३० आकर्षत हुन्छ,” महामन्त्री थापाले भने।
अहिले रास्वपामा सभापतिको पापको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको उनले टिप्पणी गरे । ‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन’, उनले भने, ‘कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ ।’
उनले आफूहरूकै जडबलमा सहकारी ठगीसम्बन्धी संसदीय समिति बनेको र समितिको प्रतिवेदनबाट सत्य खुलेको बताए। गोरखा मिडियाका सञ्चालक आफैं सरकारको जिम्मेवार पदमा भएका करणले सहकारी ठगीमा छानबिन हुन सकेको थिएन। उनीविरुद्ध जाहेरी पर्दापर्दै पनि छानबिनमा अवरोध गरियो। त्यसैले राज्यका निकायले छानबिन गर्छ भनेर विश्वास नरहेपछि हामीले संसदलाई गुहारेका थियौं, थापाले भने।





