२ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेका दीपक सिलवालको अवस्थाबारे अनुगमन गरी जीवनरक्षाका लागि गृहमन्त्रालाई पत्राचार गरेको छ ।
प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकको स्वास्थ्योपचार गर्न आपत्कालीन हेली उद्धार गरी पाउँ भनी गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा रहेका तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवालको स्वास्थ्यावस्था सम्बन्धमा आयोगले अनुगमन गरी उक्त पत्राचार गरेको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सिलवालको जीवनरक्षाका लागि आजै गृहमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए ।
पत्रमा भनिएको छ, “अनुगमनका क्रममा निज सिलवालको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको पाइएकाले निजको स्वास्थ्योपचारसहित जीवनरक्षाका लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिलबमोजिम पत्राचार गरेको छ ।”





