समाचार

महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल

१६ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले ३० वर्षमा निजामती क्षेत्रमा महिला नेतृत्व वृद्धि ३३ प्रतिशत पुग्नु सकारात्मक रहेको बताएका छन्।

सञ्चारिका समूहले आज काठमाडौँमा आयोजना गरेको ‘सञ्चारिका टक्स् सिरिजः टुगेदर वि लिड’ विषयक सामूहिक छलफलमा सचिव अर्यालले छोटो अवधिका लागि लीलादेवी गर्तौला मुख्यसचिव भए पनि भावि समयमा महिला प्रमुख सचिव हुने बाटो खुलेको बताए । यद्यपि संविधानले परिकल्पना गरेजस्तो समान सहभागिता अझै पर्याप्त नरहेको बताउँदै सचिव अर्यालले आरक्षण कोटालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । “निजामती सेवामा महिला सहभागिता बढ्दो छ, तर यही नै पर्याप्त भने होइन”, उनले भने, “यसका लागि आरक्षण कोटालाई अझै वृद्धि गर्न जरुरी छ ।”

सामूहिक छलफलमा सचिव अर्यालसँगै पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, सञ्चारकर्मी नम्रता शर्माको सहभागिता थियो । छलफलमा सञ्चारकर्मी निमा काफ्ले मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।

पूर्वउपसभामुख तुम्वाहाम्फेका अनुसार महिलाको नेतृत्व विकास गर्नु भनेको राज्यको समृद्धिमा टेवा पुर्‍याउनु हो । समावेशीको अभियानलाई साकार पार्न पुरुषको सहकार्यविना असम्भव रहेको बताउँदै उनले सबैको साथको आह्वान गरे ।

उद्योगपति राणाले आफू महासङ्घमा पहिलो महिला नेतृत्वको भूमिका निर्वाह गर्दाको अनुभव साट्दै पुरुषको साथले नै त्यहाँसम्म पुग्न सफल भएको बताए । “मलाई मत दिनेहरू पुरुष मित्र धेरै हुनुहुन्थ्यो, महिला नेतृत्वलाई सबैले स्वीकार गरेमात्रै सफल हुन सकिन्छ”, उनले भने ।

सञ्चारकर्मी शर्माले मिडियामा महिला नेतृत्वका मुद्दा कसरी र कति उठाउँदै आइएको छ भन्नेबारे धारणा राखे । उनले महिलावादी आन्दोलनलाई मिडियाले साथ दिएको छ तर, नेतृत्व तहसम्म पुर्‍याउने विषयमा अझै कमजोरी रहेकोे बताए ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको सहभागितासँगै नेतृत्व तहमा पुर्‍याउन पहल गर्नुपर्ने धारणा राखे । नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले महिला नेतृत्व र पहुँचबिना संविधानले परिकल्पना गरेको सामाजिक न्यायको भाव अपूरो रहने बताए ।

खाद्यविद् डा यमुना घलेले वर्तमान संविधानले महिला सहभागितामा जोड दिएको भए पनि स्वामित्व कायम हुन नसक्दा नेतृत्व विकास भएको भन्न नमिल्ने बताए । सञ्चारकर्मी उषा लोहनी, मधेसी आयोगका सदस्य रेणु साहले महिला सशक्तीकरण समाज विकासको खुड्किलो हुने धारणा राखे । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले सञ्चारमा महिलाको विकास बढ्दो रहेको र सम्पादकीय पहुँचमा पुर्‍याउन सञ्चारीका निरन्तर सङ्घर्षरत रहेको बताए ।