२० मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबिच विद्यार्थीलाई शोध वृत्ति प्रदान गर्ने विषयमा आज सहमति भएको छ ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञानसम्बन्धी विषयमा खोज, अनुसन्धान गरेमा त्यस्तो शोध वृत्ति उपलब्ध गराउने सम्झौता भएको हो । यहाँ आयोजित कार्यक्रममा विभागका प्रमुख डा कुन्दन अर्याल र बोर्ड कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेकोले त्यसलाई प्रवर्द्धन गर्न शोध वृत्तिको व्यवस्था गरिएको जानकारी दिए । विभाग प्रमुख डा अर्यालले विद्यार्थीहरूलाई आकर्षित गर्न बोर्डले गरेको शोध वृत्तिको सराहना गर्दै यसले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
बबरमहल स्थित विज्ञापन बोर्डको कार्यालयको भएको सम्झौता कार्यक्रममा विभागीय प्रमुख सह प्राध्यापक डा कुन्दा अर्याल, उप-प्राध्यापक शशी मरासिनी तथा विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।