समाचार

मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध

२२ मङ्सिर, पाटन । ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुग्नुभएका नगरप्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा आज हस्ताक्षर गरेको हो ।

घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । समझदारीपत्रमा हस्ताक्षरपछि उनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए । “प्रकृतिले यस पालिकालाई अमूल्य वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिने छौँ”, उनले भने । महानगरप्रमुख महर्जनले विना ‘टेन्डर’ महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने बताए ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए । आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगरप्रमुख सहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गरे। हिमालपारिको यस जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको उनको भनाइ थियो ।

ललितपुर महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताउनुभयो । ललितपुर महानगरले घरपझोङसहित पाँचवटा पालिकासँग भगिनी सम्बन्ध कायम गरेको बताउँदै प्रवक्ता महर्जनले भगिनी सम्बन्धले पालिकाहरूबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राख्रे । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि विकासमा साझेदारी र असल अभ्यासको अनुकरण र अनुसरण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

विसं २०७३ को स्थानीय निर्वाचनअघि मुस्ताङ जिल्ला साबिकका मार्फा, टुकुचेको दुईवटा वडा र जोमसोस गाउँ समितिलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियोे । यो गाउँपालिकामा पाँचवटा वडा छन् । तथ्याङ्कअनुसार यहाँ तीन हजार एक सय ८४ जनसङ्ख्या रहेको छ ।