समाचार

रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले गुहार्यो मानवअधिकार आयोग

२३ मङ्सिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ ।

रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन् । निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग राखिएको छ ।

निवेदनमा कात्तिक २ मा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।