२८ मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जमा सुनाइ क्षमतामा कमी भएका बिरामीका लागि प्रभावकारी सञ्चारका लागि सहजीकरण गर्न विभिन्न सुविधा ल्याएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा सुस्तश्रवण भएकालाई सुन्न सहयोगी सामग्री, प्रतीक चिह्न इयरमार्क तथा सञ्चार रणनीतिहरू समावेश गरिएको सहयोगी पुस्तिका विकास गरी कार्यान्वयनमा ल्याएको जनाइएको हो ।
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा रवीन्द्र प्राधानाङ्गले अस्पतालले सुस्तश्रवण भएका व्यक्तिका लागि सहजताका लागि ओपिडी कार्डमै छाप लगाउने व्यवस्था गरेको बताए । त्यसका साथै ती व्यक्तिहरूसित कसरी सञ्चार गर्ने भन्ने विषयमा तालिम पनि दिइएको बताए ।
जापानी सहयोग नियोग जाइकाको ‘ग्रासरूट्स जेपिपी’ परियोजनाअन्तर्गत श्रुति राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाको सङ्गठन नेपाल, त्रिवि शिक्षण अस्पताल र जापानको राष्ट्रिय सुस्तश्रवण सङ्घको सहकार्यमा ‘पाइलट प्रोजेक्ट अफ ऐसेसिबल कम्युनिकेसन सपोर्ट फोर हार्ड अफ हेयरिङ प्यासियन्टेस् इन काठमाडौँ हस्पिटल’ नामक तीन वर्षे परियोजनाअन्तर्गत सो व्यवस्था गरिएको हो ।
डा प्राधानाङ्गका अनुसार सुस्तश्रवण भएका व्यक्तिहरूले आफ्नो समस्याबारे भन्न सक्ने तर जवाफ सुन्न पाए पनि बुझ्न नसक्नु सबैभन्दा ठूलो चुनौती रहेको छ । उनले भने, “सुस्तश्रवण भएका व्यक्तिलाई अस्पताल जाँदा एकै पटकमा सम्पूर्ण सेवा कुनै पनि सोधपुछ बीना उपलब्ध हुन सकोस् भन्ने नै यो परियोजनाको मुख्य उद्देश्य हो ।”
उनले भने, “सुस्तश्रवण भएका व्यक्तिमैत्री अस्पताल तथा क्षेत्र सबै हुनुपर्छ । यो परियोजना कार्यन्वयन गर्दा टिकट काउन्टरमै स्ट्याम्प लगाउने व्यवस्था छ, जसले गर्दा फलोअपमा सजिलो हुन्छ । हाल प्याथोलोजीमा यो सुविधा छ विस्तारै अरू विभागतिर पनि विस्तार गछौँ ।” अस्पतालले छिट्टै नै अस्पतालको सेवासहितको डिजिटल बोर्ड राख्ने तयारीमा पनि रहेको छ ।
सो अवसरमा ‘श्रवणशक्ति गुमेका व्यक्तिहरूको लागि स्वास्थ्य सेवाहरूमा पहुँच अस्पतालको लागि सहयोगी पुस्तिका’ नामक पुस्तिका प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो ।
श्रुतिकी अध्यक्ष तथा परियोजनाकी संयोजक नीता केशरी भट्टराईले परियोजनाले सुस्तश्रवण भएका व्यक्तिलाई स्वास्थ्य सेवामा पहुँचयुक्त वातावरण निर्माणका लागि सहयोग गर्ने बताईन् । उनले भने, “सुस्त श्रवण भएका व्यक्तिहरू घरपरिवारमा निर्भर हुने, स्वास्थ्य सेवा लिन आफैँले नसक्ने भएको हुनाले यसको लागि पहुँचयुक्त कसरी बनाउन सकिन्छ भनेर परियोजना गरेका हौँ ।”
उनले स्वास्थ्यकर्मीमा ती व्यक्तिहरूसित कसरी सञ्चार गर्नुपर्छ भन्ने चेतनाकी कमी देखिएको र सञ्चार सामग्री पनि उपलब्ध नभएको पाइएको बताए । उनले भने, “ती व्यक्तिहरूसँग कुरा गर्दा उज्यालो कोठाहरू प्रयोग गर्ने, कुरा गर्दा आँखा जुधाएर कुरा गर्नुपर्ने, बोल्दा सहज हुनेगरी बोल्ने, हाउभाउ प्रयोग गर्ने, लेखेर कुरा गर्ने, धैयर्ता गरेर कुरा गर्ने, लेख्ने बोर्डहरू राख्ने विषयमा छलफल भएको छ । सहयोगी पुस्तकले पक्कै मद्दत गर्नेछ ।”