३० मङ्सिर, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका टेकबहादुर रोका निर्वाचित भएको छन् । आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले छ सय ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले चार सय १० र शिव बस्नेतले ९३ मत प्राप्त गरे।
उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा छ सय ८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले चार सय १६ मत पाए । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने छ सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले तीन सय ६३ मत पाए ।
महासचिव पदमा आशिष गुरागाईं पाँच सय ६७ मतसहित विजयी भएको छन् । उनका प्रतिस्पर्धी रामचन्द्र दुलालले पाँच सय नौ मत पाए । उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी छ सय ३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले चार सय ४४ मत पाए । समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी भएको छन् । उनले छ सय १९ मत पाए भने प्रतिस्पर्धी मोहन वल्लले दुई सय ६३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सन्जिप घिमिरे चार सय ७७ मतसहित निर्वाचित भएको छन् । उनका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाएको छन् ।
यसैगरी, खुला छ सदस्यमा घनश्याम अधिकारी वैरागी जेठा, चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भएको छन् । महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल योञ्जन निर्विरोध निर्वाचित भएको छन् ।
दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी भएको छन् । मधेशी र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भएको छन् ।
महासङ्घको उपत्यका प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखा रहेका छन् ।