२७ असार, काठमाडौं । साउन महिनामा भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधनाका लागि आउने लाखौँ भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि अभियान सुरु गर्दै पहिलो दिन पशुपतिनाथ मूल मन्दिर परिसरदेखि सूर्यघाटसम्म व्यापक सफाइ गरेको छ। आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने जनाइएको छ।
कोषका अनुसार आइतबार मूल मन्दिर बन्द भएपछि मन्दिर परिसरको सूक्ष्म सरसफाइ गरिनेछ। यस कार्यमा सुरक्षा निकायसहित विभिन्न संघसंस्थाको पनि सहभागिता रहनेछ।
पहिलो चरणको सरसफाइ अभियानमा एक दर्जनभन्दा बढी संघसंस्था सहभागी भएका छन्। कोषले प्रत्येक शनिबार नियमित सरसफाइ अभियान सञ्चालन गर्ने योजना बनाएको छ भने साउन महिनाभर आवश्यकताअनुसार अन्य दिनमा पनि विशेष सरसफाइ गरिने जनाएको छ।
साउने सोमबारका अवसरमा एकै दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले मन्दिर क्षेत्रलाई स्वच्छ, व्यवस्थित र सुरक्षित बनाउन तयारीलाई तीव्र पारिएको कोषले जनाएको छ।





