ब्रेकिङ न्युज

उपमेयर सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते

२७ असार, काठमाडौं ।  धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ६ः२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ गइरहेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा रहेका पाँच जना तथा सरकारी गाडीमा सवार उपमेयर विद्दा भुजेल, चालक बद्री भुजेल र भीमराज भुजेल घाइते भएका छन्। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको बताइएको छ।

घाइते सबैलाई उपचारका लागि धनुषास्थित जानकी मेडिकल कलेज, रमदैया पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।