समाचार

जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

६ पुुस, काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएको थियो ।

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गरेको थियो ।

सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।