१५ पुस, सुनसरी । कविशिरोमणि लेखनाथ पौडेलको एक सय ४१औँ जन्मजयन्तीका अवसरमा आज धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।
कविशिरोमणि साहित्य साधना समाजद्वारा आज आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङले कविशिरोमणि पौडेलको शालिकमा माल्यार्पण गरे। उनले हुकुमी शासनका बेला कवि पौडेलले नेपाली साहित्यको श्रीवृद्धिमा सामाजिक, राजनीति परिवर्तनको सन्देश प्रवाह गरेको बताए ।
कवि पौडेलका कविताहरू कालजयी रहेको प्राडा गोपाल भण्डारीको भनाइ छ । सामाजिक र नैतिक मूल्यको सन्दर्भमा उनका कविताहरू अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले उनका कवितामा मानव जीवनका विविध पक्षहरू समेटिएको बताए ।
आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनले गरेको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाइँदै आएको बताए ।