–जास्मिन ओझा -कविता
न्याय ! तिमी कहाँ हरायौ ?
तिमी–
गगनचुम्बी भाषणमा मात्र सीमित छौ,
द्वारमा सुनको तख्ता झुन्ड्याएर
दुःखी मनको चित्कार नसुनेझैँ गर्छौ।
तिमी–
सत्ताका शब्दले किन बेचियौ ?
अहंकारका काँधले उठाइने
पक्षपाती तराजु बनिरह्यौ।
किन पीडितको हात समात्न डरायौ ?
तिम्रा तराजु–
पैसाको भारले झुन्डिन्छन्,
शक्तिका अहंकारले दगुर्छन्।
सत्यका गवाही हराउँछन्,
झुटका छायाले सबै ढाक्छन्।
न्याय!
तिम्रा महलहरू सुनमा झल्किन्छन्,
तर गरीबका गल्लीमा
छायामात्र बाँकी रहन्छ।
किन तिमी ?
आफ्नो नाममा मात्र जीवित छौ,
तर विश्वासमा मृतजस्तै।
तर एक दिन–
चेतना जाग्नेछ, आवाज बुलन्द हुनेछ।
न्यायको आँखा खुल्नेछ,
अन्धकारको पर्दा च्यातिनेछ।
त्यो दिन,
तिमी आफैँ कठघरामा उभिनेछौ।
त्यो दिन–
न्यायको परिभाषा
किताबको पानामा मात्र सीमित हुने छैन।
जनताको मनबाट उठेको आवाज
न्यायको कसम हुने छ।
तिमी–
तिम्रा कमजोरीमाथि लज्जित हुनेछौ।
त्यो दिन,
न्याय पुनर्जन्म लिनेछ,
सत्यको उज्यालोमा
फेरि एउटा इतिहास लेखिनेछ।