१२ माघ, धनुषा । मधेश प्रदेश सभाले हालसम्म विभिन्न विषयसंँग सम्बन्धित ६४ कानुन पारित गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित कानुन कार्यान्वयनमा सरोकारवालासँगको छलफलमा मन्त्री राजकुमार लेखीले सो जानकारी दिदै कानुन कार्यान्वयनका लागि सरोकारवाला निकायको साथ र सहयोग आवश्यक भएको बताएका छन् ।
उनले भने, “कानुन जस्तोसुकै राम्रो भएपनि यसको कार्यान्वयन भएन भने त्यसको कुनै औचित्य हुँदैन । ”कानुनमन्त्री लेखीले प्रदेश सरकारले बनाएको कानुनको कार्यान्वयनका लागि प्रदेश सरकार गम्भीर भएर लागेको जानकारी दिए।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले प्रदेश सरकारले बनाएको कानुनलाई प्रभावकारी कार्यान्वयनका लागि नै कानुन बनाउने, कानुनको व्याख्या गर्ने तथा कानुनको कार्यान्वयन गर्ने निकायको सहभागिता गराएर अन्तरक्रिया गराएको बताएका छन् ।
मधेश प्रदेशसभाका सदस्य रामअशिष यादवले प्रदेशसभाबाट हालसम्म ६४ वटा कानुन पारित भएको छ । कानुनको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारसँग प्रहरी तथा आफ्नै निजामति प्रशासन हुन आवश्यकसमेत भएको बताएका छन् ।
प्रदेशसभाका सदस्य सन्जय यादवले सङ्घीयतालाई बलियो बनाउन सहकार्यको जरुरी रहेको बताए । उच्च अदालत जनकपुरधामका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले प्रदेशको कानुन स्थानीय तहले कुनरूपमा कार्यान्वयन गरेको छ त्यसको अनुगमन हुन आवश्यक छ भने ।
सो अन्तरक्रिया कार्यक्रममा उच्च, जिल्ला अदालतका न्यायाधीश, सरकारी वकिलका कार्यालयका प्रतिनिधि, नेपाल वार एशोसिएशनका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।