२२ माघ, कैलाली । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ ।
गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।
अत्तरियालाई चार अङ्कसहित समूह ‘ए’ को शीर्षस्थानमा पु¥याउनका लागि विवेक यादवले अर्धशतकसहितको विवेकीय पारी खेले । दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा आठ विकेट क्षतिमा एक सय ४२ रन बनायो ।
सुरुआती ब्याट्सम्यानहरू सस्तोमा पेलिभियन फर्किंदा चौथो विकेटका रूपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले । सोह्र रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रूपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे । एघार दशमलव एक ओभरमा छ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए ।
अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शङ्कर रानाले १४ रन बनाए । क्रिकेट एक्सिलेन्स सेन्टरका लागि युनिष ठकुरी र दीपेन्द्र रावतले दुई-दुई विकेट लिए । सूर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक-एक विकेट लिए ।
एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्रिएको क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले १२ दशमलव दुई ओभरमा नौ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिइसीका विपिन आचार्य ११ दशमलव दुई ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सिवाइसी अत्तरिया विजयी भएको हो ।
सिइसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अङ्क छुन सकेनन् । पाँच खेलाडी शून्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले पाँच विकेट लिए । उनी प्रतियोगितामा पाँच विकेट लिने पहिलो खेलाडी भएका छन् । तीन दशमलव दुई ओभर बलिङ गरेका उनले १० रन खर्चिए ।
दिपेश कँडेलले दुई विकेट हात पार्दा साहव आलम र सुशील साउँदले एक-एक विकेट लिए । खेलमा पाँच विकेट लिएका सिवाइसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद रु १० हजारसहित ट्रफी पाए ।
स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद रु १० हजार प्रदान गरिनेछ ।